
नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ।
शनिबार मलेसियाको वांगीस्थित वाईएसडी यूकेएम ओभलमा भएको फाइनलमा सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका जय थापा २४ रन र अभय यादव १० रनमा अविजित रहे। दुवैले नवौँ विकेटका लागि २५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए। अभयले विजयी छक्का प्रहार गरेका थिए। शिवांश बजगाईंले २०, शुभम खनालले १८ रन बनाएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमै समेटिएको थियो। नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए। शुभम खनालले २ तथा कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए।
नेपाल प्रतियोगितामा अपराजित रह्यो। यसअघि पनि सन् २०२३ को संस्करणमा नेपाल विजेता बनेको थियो। यसअघि सन् २०१७ र २०१९ मा यू–१६ इस्टर्न रिजनको उपाधि पनि नेपालले जितेको थियो।