काठमाडौं, असार २२ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।

पूर्वाधार विकास समितिको सिंहदरबारमा आइतबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले उक्त आयोजनाको टनेल निर्माणको काम सम्पन्न भइसकेको भन्दै बाँकी कामका लागि कार्यतालिका मागेर द्रुत गतिमा अगाडि बढाउन खोजिएको बताए ।

‘गत असोजमा आएको बाढीका कारण आयोजनामा केही क्षति पुगेको, आर्थिक अभाव भएको, बाढीले क्षति पुर्‍याएको इन्सुरेन्स नपाएको कारण आयोजना केही ढिलाइ हुन पुगेको पाइन्छ, हामीले वर्क सेडुल मागेका छौँ, नयाँ ठेक्का लगाउँदा पनि धेरै समय लाग्छ, अहिलेकै ठेकेदारबाट काम गराउन लागिपरेका छौँ,’ उनले भने ।

उनले सुनकोसी-मरिन आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन पूर्वाधार समितिबाट उपसमिति बनाएर आयोजनाको बारेमा जानकारी लिँदा आयोजना चाँडो सम्पन्न गर्न फाइदा पुग्ने बताए ।

ऊर्जामन्त्री खड्काले पूर्वाधार समितिमा छलफलका क्रममा रहेका विद्युत् विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकलाई सँगै अगाडि बढाएर पास गर्न समितिले तदारुकता देखाउन आग्रह गरे । ‘कुनै एक विधेयकलाई अगाडि बढाएर अर्को विधेयक रोक्नुपर्छ भन्ने छैन, दुवै विधेयकलाई टुङ्ग्याउँ भन्ने हो,’ उनले भने ।

उनले लामो समयदेखि थाती रहेको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विद्युत् बक्यौता उठाउन समिति बनाएर छानबिन गरिरहेको बताए । प्रयोग गरेको विद्युत्‌को बिल कुनै हालतमा तिर्नुपर्ने मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले बजेटमा आएको टेक एन्ड पेको व्यवस्था परिमार्जन भइसकेको बताउँदै यस सम्बन्धमा भ्रममा नपर्न आग्रह गरे । उनले जलस्रोत विधेयकका सवालमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उक्त विधेयकबारे प्रधानमन्त्री र मन्त्रीहरुले चासो राख्नु स्वभाविक भएको बताए ।

विधेयक राष्ट्रिय सभामा पुगेकाले चाँडो त्यहाँ पेस हुने मन्त्री खड्काको भनाइ छ । जलस्रोत विधेयक समितिबाट पास गरेर प्रतिनिधिसभामा पठाउनु पूर्वाधार समिति, मन्त्रालय र सरकारको ठुलो उपलब्धि भएको पनि उनले बताए ।