काठमाडौं, असार २४ :

काठमाडौँको बौद्ध क्षेत्रबाट स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार वाङ जियान बौद्धको नयाँबस्तीस्थित एक कोठामा डेरा लिएर बस्दै आएका थिए। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले सोमबार साँझ वाङ बस्दै आएको कोठामा छापा मार्दा ठूलो मात्रामा नगद फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार वाङले उक्त रकमको स्रोत खुलाउन नसकेको बताएका छन्। ‘बरामद रकम कहाँबाट आएको भन्ने स्पष्ट गर्न सकेका छैनन्,’एसपी बोहराले भने, ‘हाल अनुसन्धान जारी छ।’

प्रहरीले वाङको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ राहदानीसमेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने प्रहरीको आशंका छ।

हाल वाङमाथि थप अनुसन्धान जारी रहेको र रकमको स्रोत, प्रयोजन तथा संलग्नता पहिचान गर्न उनले प्रयोग गरेका डिजिटल माध्यम, कागजात तथा सम्पर्क सञ्जालसमेत परीक्षण भइरहेको प्रहरीले जनाएको छ।