
सबै तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री केपी ओलीले रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।
उनी मंगलबार अपराह्न हेलिकोप्टर चढेर मन्त्रीको टोलीसहित प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।
प्रधानमन्त्री ओलीले स्थलगत भ्रमणको क्रममा स्थानीय प्रशासन, जनप्रतिनिधि तथा प्रभावित बासिन्दासँग बाढीपछिको अवस्था, उद्धार तथा राहत कार्यबारे छलफल गरे ।
त्यसक्रममा प्रधानमन्त्रीले उद्धार, राहत र पुनःस्थापनासम्बन्धी आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
उनले बाढीबाट बेपत्ता भएकाहरुको खोजी कार्यमा तीव्रता दिन, क्षतिग्रस्त रसुवागढी भन्सार क्षेत्रको पुनःनिर्माण चाँडो गर्न तथा बगाइएका मालवाहक कन्टेनर र सुक्खा बन्दरगाहमा भएको क्षतिबारे चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापति तथा चारै सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।
सरकारले बाढीपीडित क्षेत्रका जनताको सुरक्षा, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
हेरौं थप तस्बिर :