
देशभर आज (शुक्रबार) दिउँसो आंशिकदेखि साधारणत: बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यसैगरी शुक्रबार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणत: बदली रही बाँकी भू भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।