काठमाडौं, असार २७ :

गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असहयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पारे । उनले गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त पीडादायी अवस्था भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकारले विधेयकमा विभिन्न प्रस्तावहरू समावेश गरेको पनि बताए ।

वर्तमान व्यवस्थाअनुसार बाबु र आमा दुवै नेपाली नागरिक भएमा मात्र सन्तानले वंशजको नागरिकता पाउने र आमा विदेशी भएमा सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था रहेको उनले स्मरण गराए । संविधानको व्यवस्था परिवर्तन नगरी नागरिकता ऐन संशोधन गर्दा कानुनी जटिलता आउने भएकाले सावधानीपूर्वक विधेयक पारिएको उनको भनाइ छ ।

‘यदि कोही आमापीडित सन्तान छन् भने बुबाको मात्रै नामबाट पनि नागरिकता पाउनसक्ने व्यवस्था गर्न सकिन्छ । सामान्यतः हामीले आमा कुमाता हुन सक्दैन । आमाले आफ्नो सन्तानको अहित गर्न सक्दिनन् भन्ने सामान्य मान्यता हो । कुनै पनि नागरिकको राष्ट्रियता नै नहुनु भनेको एकदमै पीडादायी हुन्छ । त्यसलाई पनि ख्याल गरेर हामीले विधेयकमा यी प्रस्ताव गरेका छौं,’ उनले भने ।

गृहमन्त्री लेखकले भोलिका दिनमा आमाले सन्तानलाई नागरिकता लिने प्रक्रियामा असहयोग गरेको खण्डमा बाबुको नामबाट मात्रै नागरिकता पाउन सकिने व्यवस्थासमेत गर्न सकिने बताए ।

‘आमाले नै वंशजको नागरिकता दिने प्रावधान पनि राख्न सकिन्छ तर त्यसका लागि संविधानतर्फ पनि हेर्नुपर्ने आवश्यकता हुनसक्छ । अहिले हामीले आमा र बाबु दुवै नेपालकै नागरिक हुन भने वंशज हुन्छ,’ उनले भने, ‘यदि आमा नेपाली नभए अंगीकृत नागरिकता हुन्छ भन्ने व्यवस्था गरेको कारण संविधानको व्यवस्था नै परिवर्तन हुनेगरी ऐन बनायौं भने त्यो ऐन कार्यान्वयन हुन सक्दैन ।’