
रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ ।
सरकारले आइतबारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले अहिलेसम्म ११ जनाको शव फेला परेको बताए ।
उनले कुनै मानव अंग मात्रै पनि फेला परेको जनाए । भट्टले अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको जानकारी दिए । उनका अनुसार उक्त घटनाको खोज, उद्धारका लागि १९ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थल उद्धार ७४९ जना, हवाई उद्धार दुई सय जनाको भएको पनि उनको भनाइ छ । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारी बगेको बताए । २ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको पनि भट्टले जनाए ।
ल्हेन्दे खोलाले थुनिएको केरूङ खोला चिनियाँ पक्षले खोल्यो, बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान
स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोसिमटर सडक धेरै ठाउँमा क्षति भएको उनले बताए । उक्त सडक खण्डमा ठाउँ-ठाउँमा गरेर १२ सय मिटर सडक पूर्ण रुपमा क्षति भएको पनि भट्टले बताए । तीनवटा हाइड्रोमध्ये रसुवागढी ११० मा धेरै क्षति भएको उनको भनाइ छ ।
‘हिमताल फुटेकै हो भन्नेनजिक हाम्रो अध्ययन पुगेको छ । क्षतिको कुरा गर्दा अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन् । बेपत्ता १७ जना छ । घाइते एक जना । सुरक्षाकर्मी परिचालित कुल १ हजार ९ सय ५० रहेका छन्,’ उनले भने ।
बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा-चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको पनि भट्टले जानकारी दिए ।