
गृहमन्त्री रमेश लेखकले प्रहरी कर्मचारीका लागि उल्लेखनीय सुधारको घोषणा गर्दै हवल्दारसम्मका सुरक्षाकर्मीलाई १६ वर्षे सेवापछि पेन्सनमा जान सक्ने व्यवस्था नयाँ प्रहरी विधेयकमा समावेश गरिएको बताएका छन्।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित अनलाइन ट्राफिक सचेतना कक्षा सुरु गर्दै गृहमन्त्री लेखकले केही दिनभित्रै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उक्त विधेयकमाथि पुनः छलफल सुरु हुने जानकारी दिए।
‘प्रहरी कर्मचारीमा हवल्दारसम्म १६ वर्षमै पेन्सन पाउने गरेर अवकासमा जाने व्यवस्था विधेयकमा गरिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘उच्च मनोबलसहित कार्यदक्षता बढाउन यो कदम चालिएको हो।’
उक्त अवसरमा मन्त्री लेखकले प्रहरी संगठनलाई आगामी वर्षको बजेटमा तुलनात्मक रूपमा राम्रो विनियोजन गरिएको समेत बताए।
गृहमन्त्री लेखकका अनुसार नेपाल प्रहरी जनसामान्यबीच ‘लोकप्रिय संस्थाको रुपमा विकास’ हुँदै गएको छ। प्रविधिको प्रयोगमार्फत प्रहरीले द्रुतगतिमा सुधार गरिरहेको उनको दाबी छ।
‘नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ,’ उनले भने, ‘मन्त्रालयमा अस्थायी प्रहरी चौकी स्थापनाको माग उच्च छ, स्थायी रूपान्तरणको चाप पनि देशव्यापी रूपमा देखिएको छ।’
अब ट्राफिक उल्लङ्घनकर्ताले अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिन सक्नेछन्। यसबाट ट्राफिक प्रहरी कार्यालयसम्म जानुपर्ने बाध्यता हटेको छ।