काठमाडौं, असार ३० :

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधि मण्डलबाहेक स्पेन को-को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु,’ गृहमन्त्री लेखकले भने, ‘जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । ‘यस विषयमा दोषी देखिएकालाई कारबाही गरिनेछ,’ उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।