काठमाडौं, असार ३१ :

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा देशभरिबाट झन्डै १८ हजार विद्यार्थीले आवेदन दिएका छन्।

असार १८ देखि २७ गतेसम्म आवेदन खुलेकोमा १७ हजार ९ सय २९ आवेदन परेका थिए। जसमा ७ सय अस्वीकृत भएका छन्। अब १७ हजार २ सय २९ विद्यार्थी साउन ३ गते हुने प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुनेछन्।

नगर प्रमुख बालेन्द्र शाहको नेतृत्वपछि २०८० देखि महानगरले छात्रवृत्तिका लागि आफै परीक्षा लिन थालेको हो। पहिलो वर्ष ८ हजार आवेदकमध्ये ३ हजार५ सय ५९ जनाले छात्रवृत्ति पाए भने २०८१ मा १२ हजार आवेदनबाट ३हजार ८ सय १ जनाले छात्रवृत्ति पाएका थिए।

यस वर्ष आवेदन दिने संख्या अघिल्लो वर्षभन्दा ३० प्रतिशतले बढेको छ। कम्तीमा ३ हजार ५ सय जनालाई छात्रवृत्ति दिन सकिने महानगरको अनुमान छ।

पहिले कलेजहरूकै भरमा छात्रवृत्ति वितरण हुँदा पहुँच र भनसुन प्राथमिक बन्दै आएकोमा अब पारदर्शिता र प्रतिस्पर्धामूलक विधिबाट योग्य विद्यार्थीलाई लाभ पुग्ने व्यवस्था गरिएको महानगरको भनाइ छ।