
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीति हावी भएको कारण शैक्षिक अवस्था अस्तव्यस्त बनेको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारको खाका नबनाई सरकारले अन्धाधुन्द निर्णय गर्दै आएको आरोप पनि लगाए । उनले आवेदनकै आधारमा समुदायमा विद्यालयको संख्या थप्ने सरकारको निर्णयले पनि शिक्षामा गुणस्तर आउन नसकेको बताए ।
उनले शिक्षा, स्वास्थ्य र देश विकासमा कुनै पनि राजनीतिक दलले राजनीति गर्न नहुनेमा जोड दिए । उनले मुलुकको समग्र विद्यालय शिक्षा प्रणालीमा सुधार ल्याउनको लागि विद्यालय शिक्षा विधेयक अघि सारेको पनि बताए । उनले पछिल्लो समय शिक्षा विधेयक शिक्षक विधेयक जस्तो बन्दै गएको टिप्पणी पनि गरे।
उनले भने, ‘शिक्षा क्षेत्रलाई राज्यले धेरै अगाडी बढाउनुपर्छ भन्ने धारणा राख्यो । तर त्यसको मोडालिटी के हो ? कस्तो गुणस्तर दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा ध्यान दिएन । तलबाट आवेदन आएपछि स्वीकृति दियो । दरबन्दी दिन पर्दैन ? विद्यार्थी छन् कि छैनन् ? राजनीतिक रुपले हामीले शिक्षालाई लथालिंग पारेका छौं ।’
शिक्षकहरुलाई विद्यार्थीप्रति उत्तरदायी बनाउन सकेमात्र शिक्षा क्षेत्रको सुधार हुने आफ्नो समितिको ठहर रहेको सभापति थापाको भनाइ छ ।