
प्रधानमन्त्री केपी ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गरे ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेसनद्वारा आज (शुक्रबार) आयोजित नेपाल-चीन सांस्कृतिक शिखर सम्मेलन-२०२५ मा सम्बोधन गर्दै ओलीले नेपाल र चीन अत्यन्तै पुराना र ऐतिहासिक देशहरु भएको कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताए । ‘यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्,’ उनले भने, ‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन । मित्रताका लागि गच्छे चाहिँदैन । गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ । अझ व्यापक बनाइनेछ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तीकरण पुरस्कारबाट काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल, व्यवसाय नेतृवत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गरेका थिए ।