काठमाडौं, साउन २ :

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् ।

प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई शुक्रबार उद्घाटन गर्दै ओलीले आफूहरु लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लंघन नगर्ने  र यसको उचित संरक्षण गर्ने स्पष्ट गरे ।

‘हामी संयुक्त राष्ट्रसंघको बडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ । हाम्रा कोही शत्रु छैनन्, हामी सबैसँग मित्रता राख्छौं । हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौं,’ उनले भने, ‘हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समाधानार्थ लाग्नेछौं । गरिबीको अन्त्यविना मानव अधिकार स्थापना हुन सक्दैन । त्यसका लागि सीमान्तकृत समुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौं ।’ उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरुलाई सरकारले ग्रहण गर्ने विश्वास दिलाए ।