काठमाडौं, साउन ५ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध संगीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताएका छन् ।

दिवंगत अरूण मगरको २६औं स्मृति दिवसका अवसरमा स्रष्टा सम्मान एवं बृहत् सांस्कृतिक कार्यक्रममा उनले संस्कृति कुनै निर्जीव वस्तु नभई जीवनको आधार र समाजको प्राण तत्त्व भएको स्पष्ट पारे । उनले भने, ‘संस्कृतिभित्र प्राण छ । हामी खुला सङ्ग्रहालयका रूपमा बाँचिरहेका छौं । हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन् तर यही विविधता हाम्रो शक्ति हो ।’

मन्त्री पाण्डेले नेपालमा हाल १३१ भाषा बोलिने जनाउँदै अझै थप भाषा सूचीमा आउने उल्लेख गरे । उनका अनुसार अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत हुन १०५ निवेदन प्राप्त भइसकेका छन् ।

“हामी अतिथि देवो भवः भन्ने संस्कारमा विश्वास राख्छौं । अभौतिक सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउँदै आगामी दिशा तय गर्दैछौं,’ मन्त्री पाण्डेले भने ।

देउडा, कौडा र विभिन्न जातीय नृत्य अब मूलधारको पहिचानमा ल्याउन थालिएको मन्त्री पाण्डेको भनाइ छ । उनले संस्कृतिसम्बन्धी नीति अगाडि बढिरहेको र नीति पारित भएपछि अभौतिक सम्पदाहरूले औपचारिक मान्यता पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मगर समुदायको संस्कृतिमा योगदान पुर्‍याएका प्रेमबहादुर थापालाई सम्मान गरिएको थियो ।