काठमाडौं, साउन ५ :

बंगलादेशको ढाकामा रहेको एक विद्यालयमा बङ्गलादेशी वायुसेनाको प्रशिक्षण विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १६४ जना घाइते भएका छन्।

राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एन्ड कलेजमा विमान खसेपछि ठूलो आगलागी र बाक्लो धुवाँ देखिएको भिडियो सार्वजनिक भएको छ।

दुई तले भवनमा सो विमान ठोक्किएको थियो।

बङ्गलादेश सशस्त्र बलले फेसबुकमा जारी गरेको विज्ञप्तिमा भनिएको छ कि एफ -७ प्रशिक्षण विमानले आज दिउँसो स्थानीय समय अनुसार १ बजे एक प्रशिक्षण उडानका लागि उडान भरेपछि मेकानिकल समस्या देखिएको थियो। वायुसेनाका अनुसार विमान चालकको समेत मृत्यु भएको छ ।

नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीका एक डाक्टरले बताए अनुसार ५० भन्दा बढी बालबालिका र वयस्कहरू जलेर घाइते भएका छन्।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको उमेर ४ वर्षदेखि १८ वर्षसम्मका  रहेका छन् ।

घाइतेहरूलाई नजिकैको अस्पतालहरूमा लगिएको छ भने उद्धार कार्य अझै जारी छ। घटनाको कारण पत्ता लगाउन अनुसन्धान समिति गठन गरिएको जनाइएको छ।