काठमाडौं, साउन ६ :

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित एक होटलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ठमेलस्थित जिउ डिङ युयान बीन गुआन होटलमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चीनको सियाचिन प्रान्तका ४६ वर्षीय तान चुनलिन र ३४ वर्षीया जोउ सुमेइ रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार चुनलिन डेढ महिनाअघि नेपाल आएका थिए भने सुमेइ केही दिनअघि मात्रै नेपाल प्रवेश गरेकी थिइन्।

पटक–पटक नेपाल आवतजावत गर्दै आएका उनीहरू सो होटलमा सँगै बस्दै आएका थिए। सुराकीका आधारमा प्रहरीले छापा मारेर उक्त परिमाणको सुन तथा नगद फेला पारेको हो।

हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद सुन परीक्षण गरिसकेको र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ।