
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निमोनियाका कारण निधन भएको छ ।
उहाँलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उहाँलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आइसियु) मा स्थानान्तरण गरिएको थियो ।
सिपिआई (एम) का नेता हन्नान मोल्लाले भन्नुभयो, “सिपिआई (एम) का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।”
उहाँले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज हुनुहुन्थ्यो भन्नुभयो ।
बहत्तर वर्षीय येचुरीको आज दिउँसो स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ । परिवारले उहाँको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ ।
बत्तीस वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहनुभएका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गर्नुभएका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ हुनुहुन्थ्यो । यसबाहेक उहाँले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुभएको थियो ।
यसैबीच भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ ।