
गाजामा भोकमरीको खतरा बढ्दै गएको भन्दै १ सय भन्दा बढी अन्तर्राष्ट्रिय राहत संस्था र मानव अधिकार समूहहरूले सरकारहरूलाई तुरुन्त कारबाही गर्न दबाब दिएका छन्।
सेभ द चिल्ड्रेन, अक्सफाम जस्ता संस्थाहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूको सहकर्मीहरू र सेवा लिइरहेका मानिसहरूले बिस्तारै ज्यान गुमाउँदै गएको उल्लेख गरिएको छ।
इजरायलले गाजामा आपूर्तिको प्रवेशमा नियन्त्रण गरिरहेको छ । यी संस्थाहरूको वक्तव्यलाई इजरायलले अस्वीकार गर्दै हमासको प्रचार गरेको आरोप लगाएको छ।
यो चेतावनी त्यतिबेला आएको हो जब गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्ला २४ घण्टामा कुपोषणका कारण थप १० जना प्यालेस्टाइनीहरूको मृत्यु भएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारदेखि गाजामा कुपोषणका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ।
कतिपय अस्पतालहरूमा मानिसहरू खाना नपाएका कारण अत्यधिक थकानको अवस्थामा भर्ना भएको र केही मानिसहरू सडकमै ढलिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
इजरायलले मार्चको सुरुवातमा गाजामा राहत सामग्रीको आपूर्ति पूर्ण रूपमा रोक्दै नाकाबन्दी लगाएको थियो र दुई साता पछि हमासविरुद्ध पुनः सैन्य आक्रमण सुरु गर्यो। जसले दुई महिनादेखि कायम रहेको युद्धविराम तोडियो।
इजरायलले बाँकी रहेका आफ्ना बन्धकहरूलाई छुटाउन सशस्त्र समूहमाथि दबाब दिन यस्तो कदम उठाएको बताएको थियो।
झन्डै दुई महिनापछि विशेषज्ञहरूद्वारा भोकमरीको चेतावनी दिएपछि नाकाबन्दी केही खुकुलो पारिएको भए पनि खाद्यान्न,औषधि र इन्धनको अभाव झनै गहिरिएको छ।
१०० भन्दा बढी राहत संस्थाहरूले गाजामा "भयावह भोकमरी" फैलिरहेको भन्दै चेतावनी दिएका छन् र इस्रायलमाथि खाद्यान्न वितरण गर्न नदिएको आरोप लगाएका छन्।
गाजाका गर्भवती महिलाहरूले यो परिस्थितिमा बच्चा जन्माउन नचाहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
इस्रायलले गाजाका सबै नाका नियन्त्रणमा लिएको छ । इजरायलले गाजाभित्र ७ सय ट्रक बराबरको राहत सामग्री उठाउन पर्खिरहेको दाबी गर्दै राहत संकट हमासले नियोजित रूपमा सिर्जना गरेको बताएको छ।
इस्रायलले आफ्नो स्थल तथा हवाई आक्रमण अहले पनि जारी राखेको बताएको छ। हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले बुधबार इस्रायली हवाई आक्रमणमा १७ जनाको ज्यान गएको जानकारी दिएको छ।