
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आमनागरिकमा ठुलो निराशा पैदा हुँदै गएको बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित राइजिङ नेपाल समिट २०२५ का अवसरमा आयोजित कार्यक्रममा उनले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधान दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताए ।
उनले त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरुको भएको पनि बताए । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको अध्यक्ष दाहालको दाबी छ । भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको उनले बताए ।
‘सत्य सापेक्ष हुन्छ, निरपेक्ष हुँदैन । तर यो बीचमा जनताको अपेक्षा र हाम्रो पोलिसीहरुको बीचमा के कन्ट्यारडिक्सन भयो, जसले ठूलो फ्रस्टेसन समाजमा पैदा हुँदै गएको छ । त्यसको समीक्षा गर्ने जिम्मेवारी पनि राजनीतिक दल, समाज, निजी क्षेत्र सबैको हो । किन भ्रष्टाचार दिनप्रतिदिन झन बढ्यो, सही निष्कर्षमा पुग्न नेगेटिभ साइट पनि हेर्नुपर्छ,’ उनले भने, ‘अहिले भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको छ । किन यति धेरै बढ्यो । अराजकता र बेथिति पनि सबैतिर ब्युरोकेसी, जुडिसियरीदेखि, लेजिस्लेटिप सबै संस्थाहरु यो अराजकता के कारणले बढेको छ भन्ने कुराको समीक्षा हुन जरुरी छ ।’
अध्यक्ष दाहालले अब सजिलै जनतालाई सन्तुष्ट गर्ने स्थिति नरहेको बताए । संविधानको समीक्षा गरेर संशोधनतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ ।