
थाइल्याण्ड र क्याम्बोडियाली सेनाबीचको विवादित सीमामा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको थाई अधिकारीहरूले बताएका छन्।
दक्षिणपूर्वी एशियाका यी दुई छिमेकी देशबीचको यो झडप एक शताब्दीभन्दा पुरानो सीमा विवाद गम्भीर रूपले अघि बढेको संकेत हो।
अधिकांश मृतकहरू थाइल्याण्डका तीन वटा प्रान्तका सर्वसाधारण रहेका थाई सेनाले जनाएका छन् । थुप्रै घाइते पनि भएका छन् । क्याम्बोडियाले भने हालसम्म आफ्नो पक्षमा क्षति भएको पुष्टि गरेको छैन।
दुवै पक्षबीच गोली हानाहान भएको थियो जसमा दुबैले झडप सुरु गर्ने दोष एक-अर्कालाई दिएका छन्। भिडन्त छिट्टै बढ्दै गयो । थाइल्याण्डले क्याम्बोडियामाथि रकेट प्रहार गरेको आरोप लगाएको छ भने थाइल्याण्डले क्याम्बोडियाली सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको बताएको छ।
थाइल्याण्डले क्याम्बोडियासँगको सीमा बन्द गरेको छ भने क्याम्बोडियाले थाइल्याण्डसँगको कूटनीतिक सम्बन्ध घटाएको छ।
दुबै देशले सीमा नजिकका आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्। थाइल्याण्डले ४० हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिरहेको छ।
थाई अधिकारीहरूका अनुसार सुरिन, उबोन राचथानी र सिसाकेट प्रान्तहरूमा एक जना सैनिक सहित ११ जना सर्वसाधारणको मृत्यु भएको छ । जसमा ८ वर्षे र १५ वर्षे बालबालिका पनि छन्।
थाइल्याण्ड र क्याम्बोडियाले घटनाको फरक विवरण दिएका छन्।
थाइल्याण्डको दाबी अनुसार क्याम्बोडियाली सेनाले सीमा नजिकै थाइ सैनिकहरूको निगरानी गर्न ड्रोन प्रयोग गरेपछि झडप सुरु भएको हो।
क्याम्बोडियाले भने थाइ सैनिकहरूले सिमा नजिकैको एक खमेर-हिन्दू मन्दिरतर्फ अगाडि बढेर पहिलेको सहमति उल्लंघन गरेपछि झडप सुरु भएको दाबी गरेको छ।
थाइल्याण्ड र क्याम्बोडिया यात्रा सुरक्षित छ कि छैन?
हालको अवस्थामा झडप स्थानीयस्तरमा सीमित रहेको छ। बेलायती विदेश मन्त्रालयले विशेष यात्रा चेतावनी जारी गरेको छैन।
यद्यपि पछिल्ला केही हप्तामा सीमा नाका बन्द भएपछि मन्त्रालयले उक्त क्षेत्रतर्फ यात्रा गर्नेहरूलाई अत्यधिक सतर्कता अपनाउन सुझाव दिइसकेको छ । विशेष गरी प्रेह विहेयर मन्दिर,टा क्वाई मन्दिर र टा मुएन थोम मन्दिरजस्ता पर्यटकीय स्थलहरूमा जान रोक लगाएको छ ।
यसैबीच चीनले पनि क्याम्बोडियामा रहेका आफ्ना नागरिकहरूलाई थाइ सीमा क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।
के यो पूर्ण युद्धमा रूपान्तरण हुनेछ?
थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले क्याम्बोडियासँगको विवाद अझै संवेदनशील रहेको बताएका छन् र यसलाई अन्तर्राष्ट्रिय कानुनअनुसार सावधान पूर्वक समाधान गर्नुपर्ने उल्लेख गरेका छन्।
क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्ना देशले यो विवाद शान्तिपूर्ण तरिकाले समाधान गर्न चाहेको बताएका छन् तर सशस्त्र आक्रमणको जवाफमा सशस्त्र बल प्रयोग गर्नुबाहेक कुनै विकल्प नरहेको बताएका छन्।
यसअघि पनि गम्भीर गोलीबारी भएका घटनाहरू भए तापनि ती तुलनात्मक रूपमा छिट्टै नियन्त्रणमा आएका थिए ।
यद्यपि दुबै देशमा यो तनावबाट पछि हट्ने आत्मबल र नेतृत्व क्षमता भएको नेतृत्वको अभाव देखिन्छ।
Ask ChatGPT