
गाजाका करिब एक तिहाइ मानिसहरू हरेक दिन भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता कार्यक्रम डब्लु एफ पि ले चेतावनी दिएको छ।
कुपोषण तीव्र गतिमा बढिरहेको र ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता भएको विश्व खाद्य कार्यक्रमले एक विज्ञप्तिमा भनेको छ।
यस सातामा गाजामा भोकमरीको चेतावनी थप चर्किएको छ।
शुक्रबार गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कुपोषणका कारण थप ९ जनाको मृत्यु भएको छ। जसले गर्दा युद्ध सुरु भए यता यसरी मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ।
गाजामा आपूर्ति प्रवेशमा नियन्त्रण गर्ने इजरायलले भने गाजामा सहायता प्रवाहमा कुनै प्रतिबन्ध नरहेको दाबी गर्दै आएको छ । इजरायलले कुपोषणको दोष हमासलाई दिएको छ।
शुक्रबार एक इजरायली सुरक्षा अधिकारीले निकट भविष्यमा गाजामा हवाईबाट राहत सामग्री फ्याँक्न अनुमति दिन सकिने बताएका छन् । तर सहायता संस्थाहरूले यसलाई गाजामा राहत पुर्याउने प्रभावकारी उपाय नभएको बताएका छन् ।
युएई र जोर्डनले राहत हवाई ड्रप गर्ने बताएका भए पनि इजरायलको अनुमति अहिलेसम्म जोर्डनको सेनाले नपाएको जोर्डनका एक वरिष्ठ अधिकारीले बताएका छन्।
संयुक्त राष्ट्रसंघले यस कदमलाई इजरायली सरकारको निष्क्रियता ढाकछोप गर्न गरिएको ध्यान भंग गर्ने प्रयास भनेर वर्णन गरेको छ।
गाजामा मानवीय अवस्थाको बारेमा अन्तर्राष्ट्रिय चिन्ता बढ्दो क्रममा छ।
शुक्रबार जर्मनी, फ्रान्स र बेलायतले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायललाई गाजामा राहत प्रवाहमा लगाइएका प्रतिबन्धहरू तत्काल हटाउन आग्रह गरेका छन् ।
ती देशहरूले गाजामा देखिएको मानवीय विनाश तत्काल अन्त्य गर्न र युद्ध समाप्त गर्न आह्वान गर्दै भने इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसारको आफ्नो जिम्मेवारी पुरा गर्नैपर्छ।
नागरिक जनसङ्ख्यालाई अत्यावश्यक मानवीय सहायता रोकिनु अस्वीकार्य छ विज्ञप्तिमा उल्लेख गरिएको छ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय समुदायमा देखिएको उपेक्षा,निष्क्रियता,सहानुभूतिको अभाव,सत्यको अभाव र मानवता अभावको आफूले वर्णन गर्न नसक्ने बताएका छन्।
एम्नेष्टी इन्टरनेशनलको विश्व सम्मेलनमा सम्बोधन गर्दै उनले २७ मेदेखि जब अमेरिका र इजरायलद्वारा समर्थित गाजा ह्युम्यानिटेरियन फाउन्डेशनले संयुक्त राष्ट्रसंघ नेतृत्व प्रणालीको विकल्पको रूपमा सहायता वितरण सुरु गरे यता खाद्य सहायता खोज्दै गर्दा १ हजार भन्दा बढी प्यालेस्टिनीको हत्या भएको बताएका छन्।