
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत् उपभोक्तालाई आफ्नो संस्था नेपाल विद्युत् महासंघलाई जिम्मा लगाउन आग्रह गरेका छन् ।
सामुदायिक विद्युत् उपभोक्ता महासंघको २१औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारले सोही विषयमा आग्रह गरिसकेको र प्राधिकरणले विज्ञप्ति नै प्रकाशित गरेर आग्रह गरेको स्मरण गराए । त्यस्ता संस्थालाई संस्थाको रोजगारी, लगानी, हिसाबकिताब सबै प्राधिकरणको जिम्मा लगाउन उनको सुझाव छ ।
‘सामुदायिकका साथीहरूले पनि आफ्नो दैनिकीमा परिवर्तन गर्न सक्नुपर्छ, लाग्नुपर्छ । हिजोको आवश्यकता थियो, त्यसमा सरकारले उच्च सम्मान गरेकै छ, अब त्यही कुरामा चल्न नसक्ने भयो भने ? धेरै साथीहरूलाई हामीले आग्रह गरेका छौँ । प्राधिकरणले पनि आग्रह गरेजस्तो लाग्छ नोटिस नै निकालेर । ज-जसले चलाउन सकिरहनुभएको छैन, उहाँहरूले प्राधिकरणलाई जिम्मा लगाउँदै जानुस् । के छ त्यहाँको हिसाब-किताब ? के छ साथीहरूको रोजगारीका कुराहरू ? त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यतातिर लाग्नुपर्छ ।’
कार्यक्रममा मन्त्री खड्काले सरकारको चाहना देशभित्रै आवश्यक विद्युत् उत्पादन गरेर खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारको चाहनामा साथ दिन महासंघलाई आग्रह गरे ।
त्यसका लागि ठुलो परियोजनामा लगानी गर्न पनि उनको आग्रह छ । नेपाल विद्युत् उपभोक्ता महासंघमा देशभरका गरी करिब तीन सय संस्था आबद्ध छन् ।