
प्रधानमन्त्री केपी ओलीले काठमाडौं-तराई/मधेस द्रूतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधान सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिएका छन् । उनले यसमा भइरहेको समस्या समाधानका लागि पहल लिएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका २१ को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको हो ।
खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीय बासिन्दाको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।
छलफलमा भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।