काठमाडौं, साउन १२ :

आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भिड लागेको छ ।

साउनको सोमबार महादेवको पूजा, आराधना, जल र बेलपत्र चढाइ दर्शन गर्ने र पूजापाठ गर्नेहरु बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालय पुगेका छन्  ।

साउन भगवान् शिवसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ ।

साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेषगरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ ।

पार्वतीले साउन महिनाभर निराहर रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।

महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।