सुर्खेत, भदौ २९ :

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व  लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

कम्पनीले सुर्खेत सहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँ लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । 

उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिनुभयो । 

सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो । 

कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यान बाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च  मागलाई ध्यान दिएर यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ ।

सल्ल्यानमा  कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको हो । 

अन्य जिल्लामा असोज ७ गतेदेखि पसल सञ्चालन हुने उहाँले बताउनुभयो । 

फाइल फोटो