चितवन, साउन १२ :

सोमबार दिन भरको छलफलबाट संसदीय दलको नेता चयनका विषयमा सहमति जुटाउन नसकिएपछि नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक भोलि बिहान १० बजेका लागि बोलाईएको छ ।

सोमबार बैठक बस्ने भनिएपनि बेलुका अबेरसम्म अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन नसकेपछि भोलि मंगलबार बिहान १० बजे बैठक बस्ने निर्णय भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी दिनुभयो ।

आफ्नै मुख्य मन्त्री विरुद्ध प्रदेश सभामा प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संसदीय दलको नेता टुङ्गो लगाउन आज दिनभर अनौपचारिक छलफल भएको थियो । तर सहमति हुन सकेन ।

वाग्मती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा विरुद्ध २१ जना कांग्रेस सांसदले शुक्रवार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।वाग्मती प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट ३७ जना सांसद रहेका छन् ।

सो विषयलाई छलफल गरेर मिलाउन केन्द्रीय समितिबाट राजन के.सी लाई केन्द्रीय प्रतिनिधि पठाइएको छ ।