काठमाडौं, साउन १५ :

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रभावमा आधारित ‘विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउने कार्य सुरु गरेको छ ।

विपद् व्यवस्थापनमा काम गरिरहेका संघसंस्था समेतको सहभागितामा कार्यढाँचा बनाउने कार्यमा प्राधिकरण जुटेको हो । विपद् पूर्वकार्य ढाँचा निर्माणसम्बन्धी कार्यशालाको बिहीबार उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले सरोकारवालाको सल्लाह सुझावसहित आएको ‘पूर्वकार्य कार्यढाँचा’ माथि थप छलफल गरेर अन्तिम रुप दिने जानकारी दिए ।

‘बाढीका लागि राखिएको रकम सुक्खामा खर्च गर्न मिल्दैन भन्ने आयो । एउटा विपद्लाई हेरेर कार्यविधि बनाउँदा अरु विपद्लाई हेर्न नमिल्ने अवस्था छ । हामीले यस्ता कार्यविधिलाई सुधार गर्नुपर्छ । विपद्का घटनाहरु बढ्दै गएका छन्,’ उनले भने, ‘एउटा गाउँलाई दिने अर्को लाई नदिने भन्ने अवस्था पनि छन् । त्यसैले जुनसुकै अवस्थामा पनि काम गर्ने ऐन नियमको व्यवस्था हुनुपर्‍यो । यो कार्यशालाले विपद्‌प्रतिको बुझाइमा एकरुपता ल्याउनेछ भन्ने विश्वास लिएको छु ।’

प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले सबैका लागि पूर्वसूचना प्रणालीअन्तर्गत पुनःस्थापनासम्मको काम गर्दै आए पनि ‘रियाक्टिभ एप्रोच’का कामले क्षति न्यूनीकरण हुन नसकेका कारण विपद्‌मा काम गर्ने सबैका लागि साझा कार्यढाँचा बनाउन लागिएको स्पष्ट पारे ।

उनले भने, ‘विपद् पूर्वकार्य कार्यढाँचामा प्रभावमा आधारित पूर्वसूचना प्रणाली सक्रिय बनाउनुपर्ने हुन्छ त्यसमा जान सकिएन भने सही व्यवस्थापन गर्न सकिँदैन । प्रक्रियागत रुपमा अघि बढेपछि विपद् पूर्वकार्य कार्यढाँचाको सबै तहका सरकारमा व्यापकता बढाउनेतर्फ प्राधिकरण जानेछ ।’

कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यशालामार्फत विपद् पूर्वानुमान पछि गरिने विपद् पूर्वकार्यमा एकरुपता ल्याउन प्राधिकरणले कार्यढाँचा बनाउन लागेको हो ।

अहिले पनि स्थानीय सरकार र सरोकारवालाहरुले विपद्को पूर्वसूचना आउनेबित्तिकै माइकिङ गरे सर्वसाधारणलाई जानकारी गराउने, डुबानमा पर्नसक्ने जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नेलगायत काम भइरहेको भए पनि स्पष्ट कार्यढाँचा नभएकाले विपद् पूर्वकार्य प्रभावकारी बन्न नसकेको अवस्थामा प्राधिकरणले साझा कार्यढाँचा बनाउन लागेको हो ।

तीन दिनसम्म विभिन्न ९ वटा मोडलमाथि छलफल गरी आवश्यकताका आधारमा कार्यहरुलाई थपघट गरी नेपालका लागि उपयुक्त कार्यढाँचा बनाइने बताइएको छ । कार्यढाँचामा विपद् सतर्कता, खतरा, खतरामाथि के गर्ने भन्नेलगायत अवस्थामा गर्ने कार्य तय गरिनेछ ।

विभिन्न विपद्‌बाट हुने मानवीय क्षति र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्य साथ विपद् पूर्वानुमानपछिको पूर्वतयारीको कार्यढाँचा बनाउन लागिएको हो ।