काठमाडौं, साउन १६ :

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् ।

सशस्त्र प्रहरीले शुक्रबार आयोजना गरेको विपद्सम्बन्धी छलफल कार्यक्रममा उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनीकरण गर्न नसकिने दाबी गरे । उनले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानवअधिकारको रक्षा गर्न पनि विपद् न्यूनीकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

महानिरीक्षक अर्यालले नेपालमा वार्षिक रुपमा सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने गरेको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ लिन आग्रह गरे । विपद् न्यूनीकरणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । विपद् न्यूनीकरणका लागि सबै निकायबीच समन्वय गरेर काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘संविधानको रक्षा गर्ने हो, मौलिक हक जोगाउने र मानव अधिकारको रक्षा गर्ने हो भने विपद्‌मा लगानी र नीति राम्रो बनाउन जोड दिनुपर्छ । सुरक्षा निकायले आफ्नो आफ्नो ठाउँबाट कार्यक्रमहरु गरिरहेको छ । हामीले सक्दो प्रयास गरेका छौं,’ उनले भने, ‘सबैले मिलेर गर्नुपर्छ । २५ जनालाई लाइफ ज्याकेट र केही सामग्री दिने हो भने प्रहरी नपुगेको बेलामा पनि स्थानीयले नै उद्धार गर्नुहुन्छ । विपद्सँग सम्बन्धित कुराहरु समन्वय गरेर काम गर्नुपर्छ । बजेटको लागि पनि सजिलो हुन्छ ।’

महानिरीक्षक अर्यालले विपद्‌सम्बन्धी तालिम पार्टीगत वा अन्य जो कोही आए पनि गराउने प्रतिबद्धता जनाए ।