ललितपुर, साउन १८ :

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताएका छन् ।

ललितपुरमा आइतबार जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले काठमाडौं, ललितपुर र भक्तपुर समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृति र प्रशासनिक गतिविधिको केन्द्र भएको बताए ।

सन् २०१२ मा बनेको सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो मास्टरप्लानयता यातायातको अवस्था निकै बिग्रिएको उनले बताए । बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण ट्राफिक जाम, ढिलाइ र वायुप्रदूषण बढेको उनको भनाइ छ । यसले दैनिक यातायातलाई मात्र नभइ आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको उनको जिकिर छ ।

उनले नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६औं आवधिक योजना राष्ट्रिय यातायात नीतिले समृद्ध, समावेशी र स्वच्छ वातावरणसहितको नेपालको परिकल्पना गरेको धारणा राखे ।

काठमाडौं उपत्यका सहरी यातायात प्रणाली मास्टरप्लान परियोजनाले ट्राफिक जाम, वायु प्रदूषणजस्ता महत्त्वपूर्ण समस्या सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि र वातावरणीय बोझ कम गर्ने लक्ष्य राखेको बताए ।

‘बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाइ र वायुप्रदूषण बढेको छ,’ उनले भने, ‘यी कारणहरुले दैनिक यातायातलाई मात्रै होइन, आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको छ ।’

मन्त्री दाहालले अब पनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै बिग्रिने जिकिर गरे ।