काठमाडौं, साउन १९ :

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। 

प्राविधिक समस्या नआए साँझ ७ बजेसम्म नतिजा सार्वजनिक हुने बोर्ड स्रोतले जनाएको छ। बोर्डले नतिजा प्रकाशनका लागि आज साँझ ५ बजे बैठक बस्ने तयारी गरेको छ। आइतबार (हिजो) नतिजा प्रकाशनको अन्तिम परीक्षण (डेमो) गरिएको थियो।

परीक्षा गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थीले दिएका थिए। तीमध्ये ३ लाख ९५ हजार ९ सय ८ जना नियमित र १ लाख १५ हजार ६ सय १७ जना आंशिकतर्फ सहभागी थिए।

यस वर्ष शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन ढिला भएको थियो। बोर्डले सुरुमा वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो तर आन्दोलनका कारण परीक्षा वैशाख २१ गतेबाट सुरु गर्नुपरेको थियो। नतिजा १५ साउनभित्र सार्वजनिक गर्ने क्यालेन्डर भए पनि शिक्षक आन्दोलन (२० चैतदेखि सुरु) का कारण २९ दिन ढिलो भएको हो।