
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् आपूर्तिको माग दिन प्रतिदिन बढिरहेको बताएका छन् ।
काठमाडौंमा मंगलबार नेपाल सौर्य विद्युत् उत्पादक संघको रजत जयन्ती समारोहमा उनले यस्तो बताएका हुन् । सरकारले विद्युत्मार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पुर्याउन नसकेको नेपालमा सौर्य विद्युत् उत्पादनमार्फत आपूर्ति हुनु राम्रो कुरा भएको उनको भनाइ छ ।
‘नेपालमा सौर्य विद्युत् उत्पादनमार्फत नेपाल सरकारले विद्युत्मार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पुर्याउन नसकेको अर्थात् ग्रिड नपुगेको ठाउँमा विकट ठाउँहरुमा यस संघको महत्त्वपूर्ण भूमिका रहेको छ,’ उनले भने, ‘नेपाल सरकारले सिँचाइ गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य ऊर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिँचाइ गरेर योगदान पुर्याइरहनुभएको छ । म प्रशंसा गर्न चाहन्छु ।’
सरकारले सिँचाइ गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य ऊर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिँचाइ गरेर योगदान दिनु सकारात्मक पक्ष रहेको पनि उनले बताए । उनले विद्युत्को आवश्यकता एकातिर दिनानुदिन बढिरहेको र अर्कोतिर चुनौती पनि बढिरहेको उल्लेख गरे ।
विद्युत्को मागअनुसार सम्बोधन र व्यवस्थापन गर्न आवश्यक रहेको मन्त्री खड्काले बताए । व्यवस्थापनका लागि आवश्यक गृहकार्य हुन नसकेको उनले बताए । उनले विद्युत् उत्पादनलाई हरेक नागरिक र मुलुकको आय-आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको पनि बताए । सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
‘हाम्रो विद्युत् उत्पादनलाई हरेक नागरिकको र मुलुकको आय आर्जनसँग जोड्ने गरी काम गरिरहेको छ । त्यसकारणले सरकारले निश्चित लक्ष्य लिएको छ । १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत पुर्याउने र त्यसलाई सबै घर पुर्याउने, त्यसबाट बिक्री गर्ने, मुलुकलाई र नागरिकलाई आयआर्जनसँग जोड्ने उद्देश्यका साथ सरकारले काम गरिरहेको छ ।’
मन्त्री खड्काले वातावरणीय असर र चुनौती कायम रहेको भन्दै त्यसलाई समाधान गर्न सबै मिल्नुको विकल्प नरहेको बताए । विद्युत्को खपत, उपयोग भरपर्दो र सुरक्षित गर्नुपर्ने चुनौती रहेको बताए ।