
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहरिएका छन्। विशेष अदालतले उनलाई एक वर्ष कैद र तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापाले सो रकम गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको छ। अदालतले उनका साथै प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई समेत दोषी ठहर गरेको हो।
त्यस्तै, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरी भने सफाइ पाएका छन्।
थापाको आम्दानी ९ करोड १४ लाख ३१ हजार रुपैयाँ मात्र भए पनि खर्च १२ करोड ५९ लाख ५३ हजार पुगेको अदालतले जनाएको छ। तीन करोड ४५ लाखभन्दा बढीको सम्पत्तिको स्रोत पुष्टि हुन नसक्दा उनी कसुरदार ठहरिएका हुन्।
थापा र उपमेयर मोक्तान दुवै माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधि हुन्। भरत थापा ‘भरत ताल’ निर्माण गरेर चर्चामा आएका थिए।