
रेडियन्ट रिडर्स एकेडेमी सानेपाको आयोजनामा प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकको दुईसहित १५ छात्र टिमको सहभागिता रहने आयोजक एकेडेमीका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
समूह ‘ए’ मा एलआरआई, डीएभी, संस्कृति र ब्लु बर्ड तथा समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन छन् । भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ समूह ‘सी’ मा छन् भने बालकुञ्ज, मृगसिरा वर्ल्ड स्कुल र रेडियन्ट ‘ए’ समूह ‘डी’ मा रहेका छन् ।
खेल १० ओभरको हुने प्राविधिक प्रमुख रवीन्द्र गुप्ताले बताए । एक टिममा १० खेलाडी हुने छन् भने ८ जनाले खेल्नेछन् ।
विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । चारदिने प्रतियोगिताका खेलहरु आयोजक एकेडेमीको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइनेछ ।
संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई खेलकुदको माध्यमबाट पनि अगाडि बढाउन रेडियन्टले खेलकुदको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले प्रतियोगिताले क्रिकेटको प्रवर्धनमा थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा प्रतियोगितालाई बृहत् रुपमा आयोजना गर्ने योजना रहेको बताए ।