
काभ्रे पनौती नगरपालिका ११ स्थित ख्याकुमा ख्याकु-देवीखोला खानेपानी आयोजना निर्माण सम्पन्न गरी १७५ परिवारलाई खानेपानी उपलब्ध गराइएको छ । खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिलाई ‘सफा र स्वच्छ’ समुदाय घोषणासमेत गरी आयोजना समुदायलाई हस्तान्तरण गरिएको हो ।
उक्त खानेपानी आयोजनाअन्तर्गत विद्यालय र मन्दिरसहित १७५ घरमा खानेपानीको धारा जडान गरिएको समितिले जनाएको छ । ख्याकु, बेँसीगाउँ, महन्तटोल, महतटोल र घैंडाँडाबाट स्कुलसम्मका बस्ती अब सुरक्षित र खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित भएको घोषणा गरिएको हो ।
कुल ८३ लाख ४८ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । उक्त आयोजनाका लागि नेपाल स्वास्थ्यका लागि खानेपानी (नेवा) बाट ४२ लाख ४१ हजार ७०० रुपैयाँ, पनौती नगरपालिकाबाट १६ लाख ९१ हजार ४०० रुपैयाँ र उपभोक्ताको श्रमदानबाट २४ लाख १४ हजार ८०० रुपैयाँ खर्चिएको आयोजनाका अध्यक्ष मोहन थापाले जानकारी दिए ।
यसअघि गत हप्ता पनौती ११ कै बल्थलीमा २०८१ असोजको बाढीपहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरी १९५ परिवारलाई पुनः खानेपानी उपलब्ध गराइएको थियो ।
बाढीपहिरोले क्षति पुर्याएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिस्टम’ मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो ।
बल्थलीस्थित नेपानेका १२३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर-एक धारा’ कार्यक्रममा जोडिएका हुन् । २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिरोले क्षति पुर्याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको थियो ।