
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार भेटवार्ता भएको छ ।
उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको भेटमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
‘भेटमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल भएको छ,’ दुई नेताबीचको भेटपछि श्रेष्ठको सचिवालयले भनेको छ, ‘यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्न आवश्यक कदमबारे विचार विमर्श भएको छ ।’
उनीहरुबीचको छलफलमा संघर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकतामाथि पनि छलफल भएको छ ।
आ-आफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटमा कुराकानी भएको बताइएको छ ।