चितवन, साउन २६ :

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले कृषि तथा वन विश्वविद्यालय  रामपुर चितवनमा आयोजित एक कार्यक्रमकाबीच धान रोपेका छन् । हाइब्रिड धान रोपाइँ  परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा राजदूत सोङले खेतमा गएर रोपाइँमा सहभागी भएका हुन्।

त्यस अवसरमा नेपालमै विकास गरिएका तथा प्रचलनमा रहेका आठ जातका धान परीक्षणका रूपमा रोपिएका छन्। विश्वविद्यालय परिसरमै प्रत्येक जातका धानको ३०० ग्राम बीउ उत्पादन गरी रोपिएको हो।

परियोजनाअन्तर्गत गरिएको यो रोपाइँ अनुसन्धान तथा विकासका दृष्टिले महत्वपूर्ण मानिएको छ। कृषि तथा वन विश्वविद्यालयका अनुसार, विभिन्न जातका हाइब्रिड धानको उत्पादन क्षमता, वातावरणीय अनुकूलता र रोगप्रतिरोधात्मक क्षमताको मूल्याङ्कन गर्न रोपाइँ गरिएको हो।

कृषि सहकार्यलाई थप बलियो बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, अनुसन्धानकर्ता, विद्यार्थी तथा स्थानीय किसानहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। चीन सरकार र नेपालको कृषि सहकार्यलाई अघि बढाउने पहलस्वरूप यस्तो कार्यक्रम गरिएको बताइएको छ।