
प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।
आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरुलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए । ‘यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपुर्जाविहीनलाई त्यसबाट मुक्त बनाउन गठन गरिएको हो,’ उनले भने, ‘भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्छ । त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छौं । मुलुकको विशेष परिस्थितिमा दुई ठुला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म जान्छ । हामी टालाटुली बाटुली, कति राम्री पुतली भनेजस्तो गरेर के-के भेला पारेर सरकार बनाउने पक्षमा छैनौं । यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुविधा हुँदैन र हुन दिइँदैन ।’
उनले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएमाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रहसमेत गरे ।