भक्तपुर, साउन २७ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले महिलाको उद्यमशीलता र पेसागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको एसिया लार्जेस्ट मेकअप वर्कसपको समापन सत्रमा उनले यस्तो धारणा राखेका हुन् । ‘म यो कार्यक्रम र महिला दिदीबहिनीको सहभागिता देखेर प्रभावित भएको छु । यस किसिमको काममा सरकारले नेतृत्व लिन आवश्यक छ । म पूर्वप्रधानमन्त्रीको हैसियतले पनि त्यसका निम्ति पहल गर्ने प्रतिबद्धता जनाउँछु,’ उनले भने ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सहभागी युवा महिलाहरूको लगन, मिहिनेत र उत्साहप्रति खुसी जनाए ।

कार्यक्रममा सहभागी युवा महिलाहरूलाई प्रतीकात्मक रूपमा ‘बन्दुकविहीन महिलाहरूको सेना’ सँग तुलना गर्दै यस्तो कदमले देशभरका महिलालाई प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले सरकारमा रहँदा युवा उद्यमशीलताको विशेष कदम चाल्दै आएका छौं । जनयुद्वमा पनि हामी महिलामाथि  हुने विभेदका विरुद्ध विद्रोह गर्यौं र त्यसमा महिलाहरूले उत्साहपूर्ण सहभागिता भयो ।’

मेकअप वर्कसपमा  देशभरिबाट २१ सय ३१ जना सहभागी भई एकदिने मेकअप तालिम लिएका थिए । कार्यक्रमले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ रेकर्डसमेत राखेको छ । त्यस अवसरमा अध्यक्ष दाहालले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’ को प्रमाणपत्र आयोजकलाई हस्तान्तरण गरे ।