काठमाडौं, कात्तिक १४ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेमाथि छानबिन गरी कारबाही हुने बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो कार्य गर्ने जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो कोही पनि नभएको उनको भनाइ थियो । संविधान र लोकतन्त्रमा आँच आउनु हुँदैन भन्ने कुरामा आफू स्पष्ट रहेको बताउँदै उनले सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गरिएको विषयमा अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सचिवालय बैठकले स्पष्ट निर्देशन दिइसकेको बताए।