नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । यसैक्रममा उक्त समूहले आइतबार जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ ।
यसअघि वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको देउवा पक्षले बाँकी रहेका अधिवेशन पनि आइतबारसम्म सक्ने जनाएको छ ।
जिल्ला अधिवेशनपछि आगामी ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि २१ देखि २३ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।
केन्द्रीय महाधिवेशन काठमाडौंको खुलामञ्चमा २१ देखि २३ मंसिरसम्म गर्ने तयारीसहित देउवा पक्षले काठमाडौं महानगरपालिकासँग अनुमति माग्दै पत्र पठाएको छ ।
खुलामञ्चमा महाधिवेशन गर्न अनुमति प्राप्त नभए भृकुटीमण्डपलाई वैकल्पिक स्थलका रूपमा प्रयोग गर्ने देउवा पक्षको तयारी छ । महाधिवेशनमा करिब ८ हजार प्रतिनिधि सहभागी हुने भएकाले काठमाडौंमा उपयुक्त हल तथा स्थलको अभाव रहेको देउवा पक्षको भनाइ छ ।