मकवानपुर, कात्तिक १४ :
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कुलेखानी हुँदै काठमाडौँ आउजाउ गर्ने सडकमा आवागमनमा पूर्णरुपमा रोक लगाएको छ । लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म १२ घण्टाका लागि सवारी आवागमनमा रोक लगाइएको हो।
लगातारको वर्षाले कुलेखानी जलाशयमा पानी करिब भरिने स्थितिमा पुगेपछि सुरक्षा सतर्कता अपनाउँदै यातायात रोक्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।
सम्भावित बाढी तथा पहिरोबाट मानवीय र भौतिक क्षति हुन नदिन रातिको समयमा उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। प्रशासनले तोकिएको समयसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न समेत आग्रह गरेको छ।