काठमाडौं, साउन २८ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक अधिकांश स्थानमा विद्युत् आपूर्ति सहज रूपमा भइरहेको जानकारी दिए । ‘हामीले सुधारलाई तीव्रताका साथ अघि बढाएका छौं र विद्युत् उत्पादनलाई निरन्तरता दिएका छौं । त्यसैले लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु,’ मन्त्री खड्काले प्रतियुत्तरमा भने ।

उनले विद्युत् आपूर्ति र विस्तारमा सरकारले तीव्र गति ल्याएको र वर्तमानमा १७ अर्ब ७२ करोड रुपैयाँबराबरको विद्युत् निर्यात भइरहेको जानकारी पनि दिएका थिए । साथै १२ अर्ब ९२ करोड रुपैयाँबराबरको जलविद्युत् आयात भइरहेको पनि उनले बताए ।

‘विद्युत् निर्यात र आयातको सन्दर्भमा हामीले पाँच अर्ब रुपैयाँको मुनाफा लिइरहेका छौं । देशभरका केही क्षेत्रमा अझै विद्युत् पुर्‍याउन बाँकी रहेको भए पनि ती ठाउँहरूमा पनि आपूर्ति जारी छ,’ उनले थपे । मन्त्री खड्काले सरकारको ऊर्जा क्षेत्रमा भइरहेको सुधारका कदमलाई निरन्तरता दिने र सबै नागरिकलाई विश्वास दिलाउने गरी कार्य अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन् ।