धनुषा, साउन ३० :

प्रधानमन्त्री केपी ओली आज (शुक्रबार) धनुषा र महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी हुँदे छन् । मधेस प्रदेशमा आज उद्घाटन, भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

सरकारी समाचार एजेन्सी राससका अनुसार आज प्रधानमन्त्री ओलीले मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

जनकपुर ४ मा २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँमा बनेको प्रदेश प्रहरी कार्यालय भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जानकारी दिए । २०८० असोज १० निर्माण सम्झौता भई भवन निर्माण सुरु भएको थियो ।

ओलीले आजै महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्र सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिए ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार-सोनमा-तरहारी-सुन्दरपुर खण्डको ८.३८४ किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो ।

२०८३ चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कुल लागत ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपैयाँ छ । विश्व बैंकको ऋण सहयोगबाट निर्माण हुने यो सडक १९ करोड सात लाख ८३ हजार ६१८ मा ठेक्का सम्झौता भएको छ । यस योजनाअन्तर्गत प्रदेशका २१ स्थानीय तहका केन्द्रलाई पक्की सडक सञ्जालसँग जोडिनेछ ।