काठमाडौं, साउन ३० :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबीच कार्यसम्पादन सम्झौता भएको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।

मन्त्रालयमा आजै मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक पनि बसेको थियो । बैठकमा अर्थमन्त्री पौडेलले चालु आवको बजेटले लिएका उद्देश्य पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन् ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यसपटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पुँजीगत खर्च, राजस्व संकलनलगायत लक्ष्य पूरा गर्न अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिए ।

अर्थमन्त्री पौडेलको निर्देशन- बजेटका उद्देश्य पूरा गर्ने गरी लाग्नूस्

औसत प्रयासले लक्ष्यहरु पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए । उनले समस्यमा अल्झिनेभन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गरे ।

निजी क्षेत्रको मनोबल बढाउनल अध्यादेश, नीति तथा कार्यक्रमहरुले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।