
गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताए ।
‘लागुऔषध, सडक दुर्घटना, साइबर अपराध, आत्महत्या यी विषय वर्तमान अवस्थाका नयाँ चुनौती हुन् । विशेष रूपमा काम भएको छ परिणाम आउन केही समय लाग्छ’, उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।’ पश्चिम नेपालमा भूकम्प र सोबाट हुनसक्ने विस्तृत क्षति आँकलन गर्ने काम भइरहेको बताउँदै उनले चालु आवभित्र पुनःनिर्माण सक्नेगरी काम गर्न निर्देशन दिए ।
गृहमन्त्री लेखकले गत आवमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकाप्रति बधाई एवं धन्यवाद ज्ञापन गरे । ‘अहिलेको आवश्यकताअनुसार थप नयाँ काम के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस्’, उनले भने, ‘सीमित स्रोतसाधन, जनशक्ति र बजेटभित्र रहेर काम गर्नुपर्छ ।’ कार्यसम्पादन सामूहिक काम भएको बताउँदै उनले जस-अपजस सामूहिक रूपले लिनुपर्नेमा जोड दिए ।
मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधयेक अघि बढाइएको बताउँदै प्रतिनिधिसभामा केही प्रविधिक जटिलताका कारण रोकिएको गृहमन्त्री लेखकले बताए । ‘पाइपलाइनमा रहेका कानुन-विधयेक यो महिनाभित्र प्रतिनिधिसभामा दर्ता गर्ने काम अगाडि बढाउनुस्’, उनले भने, ‘मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोहीअनुसार काम अघि बढेको छ ।’