काठमाडौं, भदौ ३ :

विश्‍वसामु नेपालको पर्यटन प्रवर्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ । यसअन्तर्गत #LifetimeExperiences नामक विशेष अभियान सुरु गरिएको छ । जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ ।

समझदारीपत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यो सहकार्यलाई नेपालको पर्यटन प्रवर्धनको पहलमा महत्त्वपूर्ण योगदान दिने बताए । उनले भने, ‘यो केवल एउटा सम्झौता मात्र होइन, यो नेपाललाई संसारसँग जोड्ने पुल हो । टिकटकजस्तो विश्वव्यापी प्लेटफर्ममार्फत हामीले नेपालको हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौं दर्शकमाझ पुर्‍याउने अवसर पाएका छौं । यो अभियानले नेपाललाई विश्‍वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्नेछ ।’

उनले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डका रुपमा उल्लेख गर्दै यो सहकार्यले ग्रामीण भेगका समुदाय, साना व्यवसायी र स्थानीय गाइडलाई प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महत्त्वपूर्ण समझदारी भएको उल्लेख गरे । उनले भने, ‘नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्‍याउने हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ । यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभइ स्वदेशमा रहेका युवाहरूलाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढंगले अभिव्यक्त गर्ने अवसर दिनेछ ।’

सीईओ जोशीका अनुसार बोर्डले अन्तर्राष्ट्रिय स्तरका ट्राभल क्रियेटरलाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ-मन्दिरदेखि ग्रामीण होमस्टेसम्म पुर्‍याउनेछ । उनीहरूले छोटा भिडियोमार्फत नेपालको पर्यटकीय गन्तव्यबारे डिजिटल संसारमार्फत प्रचार गर्ने सीईओ जोशीले बताए ।

साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत नेपालका कथाहरु सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली कन्टेन्ट क्रियटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ ।