काठमाडौं, भदौ ७ :

नेपाली खेलाडीले एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा १३ पदक जितेका छन् । नेपालले ५ स्वर्ण, ३ रजत र ५ कास्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।

अगस्त २१ देखि २२ तारिखसम्म चीनको छेङडुमा भएको प्रतियोगितामा एकल पुम्सेको यू-१० मा आरुषी थिङ, यू-१२ मा तभिसा तामाङ र विवश तामाङ, ३४ केजीमुनि आयु रे र भीआर इभेन्टमा कुमार तामाङले स्वर्ण जिते ।

त्यस्तै ३८ केजीमुनि निकी थिङ, ५८ केजीमुनि अफेस खत्री र एकल पुम्सेको यू-१४ मा पविना घलेले रजत हात पारे । २७ केजीमुनि सुजल कार्की, २९ केजीमुनि पवन घले, ३१ केजीमुनि सफल गुरुङ र ३६ केजीमुनि सागर गुरुङले कास्य प्राप्त गरे ।

प्रशिक्षकमा प्रवीण खड्गी रहेका छन् भने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक विकेश बिडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा काभ्रेस्थली, गोलढुंगा, अल्टिमेट र स्युचाटार तेक्वान्दो डोजाङका खेलाडीले सहभागिता जनाएको अध्यक्ष खड्गीले जानकारी गराए ।