
नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाले आज बिहान १० बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका छन् ।
आजको बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवारको बिषय र उपसभामुख इन्दिरा रानामगर माथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल हुने बताईएको छ ।
सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले गत साउन २८ गते प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।
यसैगरी उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।
हस्ताक्षर संकलनप्रति कांग्रेस पार्टीभित्र नै विवाद भएको छ । पार्टीको संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला त्यसैगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेका छन् । विरोधपछि छलफलका लागि सभापति देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् ।