काठमाडौं, भदौ ९ :

भदौ दोस्रो सातादेखि छायांकनमा जान तयारी भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ ।

चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो । वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौंडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनील तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेशजंग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकार सहभागी छन् ।

वर्कसपका क्रममा अभिनेता विजय बरालले चलचित्रले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पात्रलाई अझै नजिकबाट बुझ्न यो वर्कसपले ठुलो मद्दत पुर्‍याएको छ । दर्शकले आफ्नो कथा पर्दामा देखेझैँ अनुभूति गर्नेछन् ।’

त्यसैगरी अभिनेत्री वर्षा राउतले वर्कसपलाई आफूलाई पात्रमा ढाल्ने अवसरका रूपमा लिएको बताइन् । उनले भनिन्, ‘यो चलचित्र पारिवारिक भावनासँग जोडिएको छ । वर्कसपमार्फत पात्रको गहिराइमा पुग्ने अवसर पाइरहेकी छु ।’

‘मालती मंगले’ लाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । कथा पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद गुरागाईंले तयार पारेका छन् । चलचित्रको छायांकन तनहुँ र स्याङ्जाका विभिन्न भूभागमा हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए ।

रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस चलचित्रका निर्माता गायक रामकृष्ण ढकाल हुन् । सह-निर्माता रविन श्रेष्ठ र बाबु सुवेदी, छायांकन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ संयोजक कृष्ण भण्डारी, गीतकारहरू राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र सङ्गीतकारहरू हरि लम्साल, राजनराज शिवाकोटी, उज्ज्वल सागर छन् । निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र हुनेछ ।