
यस वर्षको यँयाः अर्थात् इन्द्रजात्राका लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुहरु वन प्रस्थान गरेका छन् ।
प्रत्येक वर्ष झैं यस वर्ष आज यंलाथ्व दुतिया (भदौ ९ गते) सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुथि संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् ।
पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार आज बिहान ठीक ९:४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । आज वन प्रस्थानका लागि संघको अगुवाइमा गएका प्रतिनिधिहरुले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा) का लागि यःसिं काट्ने अर्थात वृक्ष कर्तन गरिनेछ ।
यस वर्षको यँया (इन्द्रजात्रा) को लागि समिति दिएको साइतअनुसार आज राति ९:३ को साइतमा वृक्ष कर्तन गरिनेछ । यसभन्दा अघि यःसिंका लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पूजा गरिनेछ ।
त्यसपछि सुनको बन्चरो, चाँदीको बन्चरोले सांकेतिक रुपमा घाउ गरेपछि रुख काट्न सुरु गरिनेछ । आज राति साइत मात्र गरेपछि भोलि बिहानैदेखि यःसिंका लागि छनोट गरिएको रुख काट्न सुरु गरिन्छ भने भोलि नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ ।
सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोताहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि) को दिन बिहान ९:५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ ।
भोताहितिबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिरअगाडि राखिनेछ । त्यसपछि यंलाथ्व द्वादशी (भदौ १९ गते) बिहीबार बिहान १०:३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिने) छ । यःसिं उठाएपछि काठमाडौंको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रुपमा सुरु भएको मानिन्छ ।
-हेर्नुहोस् थप तस्बिर :